Minsiter of Women Children and Social Welfare
Hon'ble Kumar Khadka
Secretary
Khaga Raj Baral

बार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक संपन्न

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय
आ.व. २०७२-७३ को मिति २०७३-५-२० गतेका दिन बार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक संपन्न ।

 

महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालय र अन्तरगतका निकायहरुबाट २०७२-७३ को बर्षभरिमा संचालित कार्यक्रमको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आज मिति २०७३-५-२० गतेका दिन राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. गिताभक्त जोशीको प्रमुख आतिथ्यतामा महिला, वालवालिका तथा समाजकल्याण मन्त्रालयको सभाहलमा सम्पन्न भयो ।
मन्त्रालयका निर्देशक भरतराज शर्माले आ.व. ०७२-७३ को मन्त्रालय र अन्तरगत निकायहरुको समग्र प्रगति प्रतिवदेन प्रस्तुत गर्नु भएको थियो । निर्देशक शर्माको प्रस्तुति पछि कार्यक्रम माथि सहभागिहरुले थप प्रकाश पार्नु भएको थियो ।
समीक्षा कार्यक्रममा मन्त्रालय र अन्तरगत विभिन्न ११ वटा बजेट उपशीर्षकबाट संचालित विकास  कार्यक्रमको प्रगति, समस्या र समाधानका विकल्पहरुका वारेमा छलफल भएको थियो । संचालित कार्यक्रममध्ये उज्ञ कार्यक्रम तर्फ राष्ट्रिय महिला आयोगको भौतिक प्रगति ९९.५ प्रतिशत तथा बित्तिय प्रगति ९४.५ प्रतिशत देखियो । लैङ्गिकहिंसा निवारणका लागि महिला संस्थाहरुको एकीकृत विकास कार्यक्रम  अन्तर्गत भौतिक प्रगति ८९.३ प्रतिशत तथा बित्तिय प्रगति ८७.९ रहेको देखियो । ,त्यस्तै  उक्त कार्यक्रम  तर्फ समाजकल्याण परिषद्को प्रगति सवभन्दा बढी  सत प्रतिशत रहेको देखियो ।
समीक्षा कार्यक्रमा अर्थ मन्त्रालयका प्रतिनिधि श्री अम्बिका सुवेदीले राष्ट्रियस्तरका तुलना गर्दा मन्त्रालयको भौतिक र वित्तिय प्रगति निकै राम्रो देखिएको वताउनु भयो । कार्यक्रमलाई प्रभावकारी वनाउन अनुगमनलाई अझ सशक्त वनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा देखिएका प्रगति अनुसार लक्षित वर्गहरु लाभान्वित हुन सकेमा कार्यक्रमको प्रभावकारीता झल्किन सक्ने वताउनुभएको थियो ।  
त्यस्तै शिक्षा मन्त्रालयका प्रतिनिधि श्री लक्ष्मण प्रसाद बस्यालले कार्यक्रममा समन्वय र अनुगमनको महत्व माथि प्रकाश पार्दै मन्त्रालयहरुले विज्ञापन प्रकाशित गर्दा एउटै प्रकृतिका विज्ञापनमा मन्त्रालयमा समन्वय हुनु पर्ने वताउनु भयो । कार्यक्रमहरुलाई  मन्त्रालयहरुसंग समन्वयात्मक तथा एकिकृत ढंगमा संचालन गर्न सकेमा नतिजा उन्मूख हुन सक्ने बताउनुभयो । महिला बालबालिका विभागका महानिर्देशक राम प्रसाद भट्टराईले स्रोत साधनको कमिका कारण लक्ष्य अनुसार प्रगति गर्न नसकिएको बताउनु भएको थियो ।
उक्त कार्यक्रममा समाजकल्याण परिषद्का निर्देशक श्री हरि तिवारी, केन्द्रिय बालकल्याण समितिका निर्देशक श्री तारक धिताल, राष्ट्रिय महिला आयोगका सचिव श्री लेखबहादुर कार्की तथा सह सचिव श्री राधिका अर्यालले प्रगति प्रतिवेदनमाथि थप प्रकाश पार्नुभएको थियो ।मन्त्रालयका सह सचिव तथा प्रवक्ता नारायण प्रसाद काफ्लेले भुकम्प लगायतका विभिन्न समस्याका वावजुद पनि आशातित सफलता हासिल गर्न सकिएको वताउनु भएको थियो ।मन्त्रालयका निमित्त सचिव शंकर प्रसाद पाठकले उपस्थिति महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । साथै उहाँले आ.व. ०७२-७३ को वार्षिक प्रगति विवरणको मुख्य पक्षलाई समेत औल्याउनु भएको थियो र अनुदान वितरणलाई व्यवस्थित बनाउन मन्त्रालयले अनुदान निर्देशिका निर्माण गरेको बताउनु भएको थियो ।
राष्ट्रिय योजना आयोगका सह सचिव मधु कुमार मरासिनीले अनुदान प्रदान गरेपछि त्यसलाई त्यत्तिकै छाड्नु भन्दा त्यसको Impact Evaluation गर्नु पर्नेमा जोड दिनुभयो । विकसित देशले कुनै ठूलो काम गरेको भन्दा पनि कामलाई व्यवस्थित ढंगले गरेको हुँदा प्रगति भएको उल्लेख गर्दै कार्यलाई व्यवस्थित ढंगले गर्नुपर्नेमा जोड दिनुभयो । महिला आयोगको भूमिका बढाउन आवश्यक समेत रहेको वताउनु भएको थियो । साथै वहाले कागजी प्रगति भन्दा पनि व्यवहारमा देखिने प्रगति हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै भौतिक र वित्तिय प्रगति विच तादम्यता राख्नुपर्ने, कार्यक्रमको लागि बजेट भन्दा पनि कार्यक्रमहरु दोहोरिने समस्या रहेको उल्लेख गर्नुभएको थियो ।
केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्ली राम गिरीले नेपालको कर्मचारीतन्त्रलाई आशा गर्ने केन्द्र बनाउनु पर्नेमा जोड दिदै कर्मचारीको क्षमता बढाउनु पर्ने बताउनु भयो । सबै मन्त्रालयसँग समन्वय गर्दै केन्द्रीय बाल कल्याण समितिले बालबालिका सम्बन्धि कार्यक्रमलाई सशक्त ढंगले अगाडि बढि रहेको बताउँदै जनशक्ती र आर्थिक स्रोत बढाउनु पर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. गिताभत्त जोशीले अनुगमन तथा मूल्यांकन विद्येयक संसदबाट पास गराउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको उल्लेख गर्दै उक्त विद्येयकको पास भएपछि अनुगमन तथा मूल्यांकनमा  प्रभावकारीता आउने आशा व्यक्त गर्नुभयो । उहाँले समग्र प्रगति प्रतिवदेनको विश्लेषण गर्दै लक्षित संख्याका विपन्न महिला वर्ग (करिव ५० लाख) लाई सम्बोधन हुने गरी महिला तथा बालबालिका विभागले रणनीति तयार गरी आवश्यक तयारीकासाथ आगामी आर्थिक वर्षको कार्यक्रममा समावेश गर्नेगरी तयारी गर्न निर्देशन समेत दिनुभयो ।  



प्रतिवेदनकर्ता
शा.अ. – कृष्ण बहादुर कुँवर

 



Send your Suggestions and Comments

* Full Name :
* Address   :
* Email       :